निर्यात व्यवसायी महासंघ नेपालको पहलमा परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीतिक महाशाखामा निर्यात प्रवर्द्धनका लागि आगामी कार्ययोजना निर्माण तथा विदेशी कूटनीतिक नियोगहरूलाई निर्यात प्रवर्द्धनमा परिचालन गर्ने विषयमा छलफल शृङ्खला जारी रहेको छ। यसैक्रममा बिहीबार पस्मिना निर्यात प्रवर्द्धनसम्बन्धी विषयमा अन्तक्रिया सम्पन्न भएको छ।
महाशाखा प्रमुख सहसचिव मणिरत्न शर्मा तथा सहसचिव खगराज पाण्डेको उपस्थितिमा सम्पन्न अन्तक्रियामा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल पस्मिना उद्योग संघका उपाध्यक्ष चिरञ्जीवी काफ्ले, पूर्वअध्यक्ष दुर्गा विक्रम थापा,विजु शाक्यलगायत पस्मिना व्यवसायीहरूको सहभागिता रहेको थियो।
अन्तक्रियामा नेपालको पस्मिना उद्योगको वर्तमान अवस्था, निर्यातका चुनौती तथा सम्भावना, अन्तर्राष्ट्रिय बजार विस्तार र विदेशी कूटनीतिक नियोगमार्फत पस्मिनाको निर्यात प्रवर्द्धन गर्न सकिने उपायका विषयमा छलफल गरिएको थियो।
पानी उद्योग महासंघका पदाधिकारीसँग पनि निर्यात सम्भावनाका विषयमा छलफल गरिसकेको छ।
गत साउन २९ गते निर्यात व्यवसायी महासंघ नेपाल र परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीतिक महाशाखाबीच भएको छलफलपछि विभिन्न वस्तुगत संघ तथा उद्यमीहरूसँग निर्यातका चुनौती र सम्भावनाबारे अन्तक्रिया गर्ने क्रम अघि बढाइएको हो। यस्ता छलफलबाट प्राप्त सुझावका आधारमा निर्यात प्रवर्द्धनका लागि प्रभावकारी कार्ययोजना निर्माण गर्ने महाशाखाको उद्देश्य रहेको छ।
#Pashmina
#PashminaExport
#ExportPromotion
#NepalPashmina
#EconomicDiplomacy
#TradePromotion